मधेसबाहेक सबै प्रदेशमा २४ घण्टाभित्र वर्षात र हिमपातको सम्भावना

काठमाण्डु टुडे २०८१ फागुन ८ गते ७:०८ मा प्रकाशित

काठमाण्डू, ८ फागुन- आज मधेस प्रदेशबाहेक देशका अधिकांश स्थानमा वर्षातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका आनुसार आगामी २४ घण्टामा देशका ६ वटा प्रदेशमा वर्षात र हिमपातको सम्भावना छ भने मधेसमा मौसम बाक्लो हुस्सु र कुहिरो लाग्ने छ ।

पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा बदली भएको हो दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका एक९दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनाका साथै देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली बाँकी भेगमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा लुम्बिनी प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वषा तथा गण्डकी,सुदूरपश्चिम, र कर्णाली प्रदेशका उच्च पहाडी एवं हिमाली भागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उडानमा आंशिक प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us