काठमाण्डू,७ फागुन- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपालको कार्यशैली निरंकुश र नोकरशाही रहेको भन्दै चर्को आलोचना गरेका छन् ।
पार्टी पोलिट्ब्युरो बैठकमा बुधबार खनालले नेताहरुसँग छलफल र परामर्श नगरी नेपालले अनेरास्ववियूको पुनर्गठन गरेकामा आपत्ति जनाए ।
पार्टीमा गुटबन्दी संस्थागत भएको र त्यसले विभाजन र विघटनको दिशामा अग्रसर गराएको उनको भनाइ थियो । अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन (अपानी) मार्फत आराती लामालाई हटाएर महेश श्रेष्ठलाई अनेरास्ववियूको संयोजक तोकेका थिए ।
नेता खनालले टिके प्रथामार्फत मनपरी ढंगले डण्डा चलाएर पार्टी सञ्चालन गर्ने प्रवृत्ति आजको पुस्ताले स्वीकार गर्न नसक्ने उनको भनाइ थियो ।
नेता खनालले अनेरास्ववियू विभाजनको संघारमा पुगेको पनि बताए । खनालले आफूले ६ फागुनमा समानान्तर कमिटी गठन गर्न रोकेको दाबीसमेत गरे । आफू असन्तुष्टहरुको भेलामा गएर विद्यार्थी संगठनलाई फुटबाट बचाएको उनले बताए ।