प्रकृति लम्सालको शव नेपाल ल्याइयो

काठमाण्डु टुडे २०८१ फागुन ७ गते २१:४० मा प्रकाशित

बुटवल,७ फागुन- भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा प्रकृतिको शव बुधबार साँझ भैरहवास्थित घरमा ल्याइएको हो । प्रकृतिको शव भैरहवास्थित युनिभर्सल मेडकिल कलेजमा राखिएको छ ।

घटनालगत्तै प्रकृतिका बुबा सुनिल लम्साल उडिसा गएका थिए । २० वर्षीया प्रकृति आइतबार क्याम्पसको छात्राबासमा मृत फेला परेकी थिइन् । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले दमन गरेको थियो ।

उक्त विश्ववद्यालयमा अध्ययनरत एक हजार विद्यार्थीलाई क्याम्पस प्रशासनले घर फर्कन उर्दी जारी गरेको थियो । तर, नेपाल र भारत दुवैतिर त्यसको चर्को विरोध भएपछि विश्वविद्यालयले गल्ती स्वीकार गर्दै माफी मागेको छ ।

प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीमाथि दमन गर्ने दुई सुरक्षा गार्डलाई जागिरबाटै खर्बास्त गरिएको छ भने क्याम्पस प्रशासनका तीन उच्च कर्मचारी निलम्बनमा छन् । ओडिसा सरकारले प्रकृतिको मृत्युको घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

प्रकृतिलाई आत्महत्याका लागि बाध्य पार्ने अड्विक श्रीवास्तवलाई पक्राउ गरी प्रहरीले आत्महत्या दुरुत्सहनमा अनुसन्धान गरिरहेको छ ।

श्रीवास्तवले आफूलाई दुरुत्साहन गरेको भन्दै प्रकृतिले विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले उल्टै पीडकलाई साथ दिएको खुल्न आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us