अध्यादेशका अन्तर्वस्तु गलत र हानिकारक छन्ः एकीकृत समाजवादी

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १८:०० मा प्रकाशित

काठमाण्डू, ७ फागुन– माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सरकारले ल्याएका अध्यादेशका अन्तर्वस्तु गलत र हानिकारक भएको निष्कर्ष निकालेको छ ।

आज (बुधवार) बसेको पोलिटब्युरो बैठकले अध्यादेशबारे यस्तो निष्कर्ष निकाल्दै संसदमा निर्णायर्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।

बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्य योजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरूलगायतका केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू पारित गरेको छ ।

पारित एजेन्डाहरू बिहीबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ । प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भनेका छन्, ‘संसद् अधिवेशनको सङ्घारमा संसद्लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ ।

संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ, ‘अध्यादेशका अन्तर्वस्तु पनि गलत र हानिकारक छन् ।

अध्यादेशहरूबाट भू माफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us