अबको चुनावमा घोषणापत्र होइन, परिणामपत्र लिएर जानुपर्छः गगन थापा

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १७:४४ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– कांग्रेस महामन्त्री गगन थापाले अबको चुनावमा घोषणापत्र नभइ परिणामपत्र लिएर जनतासमक्ष जानुपर्ने बताएका छन ।

आज (बुधबार) पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले भने, ‘हामी कसैले पनि अर्को चुनावमा घोषणापत्र होइन, परिणामपत्र लिएर जाने हो,’ सम्बोधनको क्रममा थापाले भने, ‘यो पाँच वर्षमा यो यो काम भयो भनेर रिपोर्ट कार्ड लिएर जाने हो ।’

रिपोर्ट कार्ड बोकेर मतदातासमक्ष पुग्दा कांग्रेसलाई मत नहाल्नेहरूले पनि महसुस गर्ने उनले बताएका छन । उनले भने, ‘त्यसको आधारमा कांग्रेसलाई मत नदिएर यहाँ गल्ती भएछ भनेर यहाँको मतदाताले महसुस गर्छ गर्छ ।’

साथै, उनले कुनै पनि सार्वजनिक स्थानमा बसेको व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्ना लागि खर्च गर्नु अपराध भएको पनि बताएका छन ।

उनले भने, ‘जो व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पैसा पनि आफ्नो लागि खर्च गर्छ, त्यो भन्दा ठूलो अपराध केही होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us