डढेलो निभाउन जाँदा जलेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ १४ गते १३:२७ मा प्रकाशित

काठमाण्डू, १४ माघ– जुम्लामा वनमा लगेको डढेलो निभाउन जाँदा एक जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीय भद्र रावल रहेको जुम्ला प्रहरीले जानकारी दिएको छ । जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा रावलको जलेर मृत्यु भएको हो ।

आइतबार दिउँसो ३ बजेतिर लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिएका छन । स्याउ बगैँचाभित्र लागेको आगो फैलिएर जंगलसम्म पुगेको थियो ।

आगो निभाउने क्रममा रावलको जलेर मृत्यु भएको हो । आगो अझै पनि नियन्त्रणमा आइसकेको छैन। गाउँपालिका अध्यक्षले आगो नियन्त्रणका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको बताए। शव पोष्टमाटम गर्नका लागि अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्या‍इने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us