काठमाण्डू, १३ माघ– एमालेबाट निष्काशनमा परेपछि ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरिरहेका भीम रावलले गृह जिल्ला अछाममा एमालेविरुद्ध डेउडा गाएका छन् ।
अछामको साँफेबगरमा अभियानको नगर स्तरीय भेलामा आफू डेउडा नाचेको भिडियो रावलले आइतबार सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
१ मिनेट ३९ सेकेन्डको भिडिओमा रावल डेउडा भट्याएर नाचिरहेको देखिन्छन् । ‘बामाल्याको पार्टी अछामबाटी ध्वस्त बनाऊँ, बामाल्याको पार्टी देशैबाट ध्वस्त बनाऊँ’, गीतको टुक्कामा भनिएको छ ।
‘गडाको हरियो घाँस आच्छिन्, आच्छिन्, बामालेले खाइसक्यो एमाले आच्छिन्’ डेउडाको दोश्रो हरफमा भनिएको छ ।
पार्टी कार्यालय बनाउन विवादित व्यवसायी मिनबहादुर गुरुङसँग जग्गा दान लिएको विषयमा विरोध गरेपछि एमाले सचिवालयले १० पुसमा रावललाई पार्टीको संगठित सदस्यसमेतबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।
छुट्टै पार्टी खोल्ने तयारीमा रहेका रावल अहिले भने ‘मातृभूमि जागरण’ अभियान सञ्चालन गरिरहेका छन् ।