रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने

काठमाण्डु टुडे २०८१ माघ १३ गते १६:३७ मा प्रकाशित

काठमाण्डू, १३ माघ– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जिल्ला अदालत रुपन्देहीमा जवाफी बहस सकिएको छ ।

लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस भएको हो । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो ।

जवाफी बहसपछि इजलासले यो मुद्दामा आदेश गर्नेछ । अदालत स्रोतका अनुसार आदेश आजै आउने सम्भावना रहेको छ । न्यायाधीश योगीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गने भन्ने आदेश गर्नेछ ।

लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाण्डू जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us