काठमाण्डू, १३ माघ– सत्ता घटक दल एमालेले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले १५ माघको दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिएका छन ।
संघीय संसद् अधिवेशन अधिवेशन सुरु हुनअघि तयारीका लागि दलको बैठक बस्न लागेको प्रमुख बर्तौलाले जानकारी दिएका छन । १८ माघबाट संसद् अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
संसद् छलेर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै विपक्षी दलहरूले मोर्चाबन्दी गरेकाले दलको बैठकमा विधेयकमै केन्द्रित भएर एमालेले छलफल चलाउन लागेको छ ।
दलको बैठकमा आउँदो अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नयाँ विधेयकहरू तथा पहिले नै संसद्मा आइसकेका र विभिन्न समितिमा छलफलमा रहेका विधेयकमाथि पनि बैठकमा छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।
संसद् भवन नयाँबानेश्वरस्थित लोत्से हलमा बस्ने बैठकलाई संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने पनि उनले जानकारी दिएका छन ।