काठमाण्डू, १२ माघ– पूर्वपञ्चहरुको दल भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
राप्रपाको जारी केन्द्रीय समितिमा अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवलशमशेर जबराबीचको विवाद छताछुल्ल भएको हो ।
शनिबारको बैठकमा राणाले अध्यक्ष लिङदेनको आलोचना गरेकामा विरोध भएको छ । शुक्रबारको बैठकमा राणाले फरक राजनीतिक विचार प्रस्तुत गरेका थिए ।
उनले अध्यक्ष लिङदेनको कार्यशैलीप्रति रोष प्रकट गरेका थिए । राणाका तर्फबाट नेतृ कुन्तीकुमारी शाहीले बचान गरेर सुनाएको दस्तावेजप्रति शनिबारको बैठकमा बोल्ने लिङदेन पक्षीय नेताहरुले चर्को विरोध गरे ।
उक्त दस्तावेजले पार्टीलाई विभाजनको बाटोमा लैजाने तर्क लिङदेन पक्षको छ । सो पक्षले राणालाई कतैबाट परिचालित भएको आरोपसमेत लगाए ।
देशभर पार्टीका पक्षमा वातावरण बनिरहेका बेला रााणाले अनावश्यक बखेडा झिकेको भन्दै केही नेताले कारबाहीको समेत माग गरेका छन् ।
बैठकमा राणाले लिङदेनको निष्ठामाथि प्रशन उठाएकामा सह–महामन्त्री धनबहादुर बुढाले तीव्र आपत्ति जनाए । गणतन्त्रवादी एमालेबाट आएका राणाले आजीवन राजावादी राजनीति गरेका लिङदेनको निष्ठामा प्रश्न उठाउनु अनैतिक भएको आरोप उनले लगाए ।
वरिष्ठ नेताहरु लोकेन्द्रबहादुर चन्द पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी गणतन्त्रका पक्षमा उभिएका बेलासमेत लिङदेन राजसंस्थाको पक्षमा उभिएको नबिर्सन बुढाले आग्रह गरे ।
अर्का सह–महामन्त्री प्रकाश रिमालले पार्टीलाई पुनः विभाजन गर्ने षड्यन्त्र सुरु भएको रुपमा राणाको दस्तावेजलाई लिनुपर्ने बताए
लिङ्देन पार्टी नेतृत्वमा आएपछि पार्टीको पक्षमा देशभर आकर्षण बढेका बेला नेतृत्व कमजोर बनाउने काम भएको टिप्पणी गरे ।
राणाले प्रचण्ड नेतृत्वको सरकारमा लिङ्देन सहभागी भएकामा आपत्ति जनाए । रिमालले आफैँ समेत सहभागी केन्द्रीय समिति बैठकले प्रचण्ड सरकारमा जाने निर्णय गर्दा किन असहमति नजनाएको भन्दै राणासँग प्रश्न गरे ।
बैठकमा आइतबार पनि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहने सो पार्टीले जनाएको छ ।