काठमाण्डू, १२ माघ– कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले केही समयअघि ल्याएको अध्यादेशको पक्षमा उभिन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
सिंहदरबारमा शनिबार सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा पार्टीका मन्त्रीहरुसहित सांसदसँग आयोजित छलफलमा देउवाले अध्यादेशको पक्षमा एकढिक्का हुन निर्देशन दिए ।
देउवाले संसदभित्र र बाहिर अध्यादेशको पक्षमा उभिन निर्देशन दिएको सांसदहरुले बताएका छन् । काँग्रेस प्रमुख सचेतक श्याम छिमिरका अुनसार सभापति देउवाले बाध्यात्मक अवस्थामा अध्यादेश ल्याइएकाले संसद्भित्र र बाहिर एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएका थिए ।
काँग्रेसको शेखर कोइराला समूह अध्यादेशको विपक्षमा छ । कोइरालासहित सो पक्षमा नेताहरुले सार्वजनिक रुपमै उद्धेश्य जे सुकै राखिएको भए पनि अध्यादेशबाट शासन चलाउन खोज्नु गलत भएको बताएका छन् ।
बैठकमा गृहमन्त्री रमेश लेखकले अध्यादेश र सरकारका कामकारबाहीबारे सांसदहरुलाई जानकारी गराएका थिए ।
लेखकले आर्थिक संकट समाधानका लागि केही कानूनमा सुधार जरुरी रहेकाले अध्यादेश ल्याउनुपरेको जिकिर गरे ।