यथास्थितिमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्दैनः श्रेष्ठ

काठमाण्डु टुडे २०८१ माघ १२ गते १८:३१ मा प्रकाशित

काठमाण्डू, १२ माघ–माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्।

पार्टीको भ्रातृ संगठन नेपाल बुद्धिजीवी संगठनले ललितपुरमा आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले पार्टीको रूपान्तरण अनिवार्य रहेको बताए ।

नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने आफूहरुको कार्यभार रहेको उनको भनाइ थियो ।

उनले समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु रहेको बताउँदै परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको स्पष्ट पारे ।

विदेशी भूमिका श्रम गर्न गएका ३० लाख नेपालीलाई स्वदेश फर्काउन नसकिए आफूहरुको राजनीतिक उद्देश्य प्राप्त हुन नसक्ने श्रेष्ठले बताए । आफूहरुको ध्यान सुशासन, समृद्धि र सामाजिक न्यायमा रहेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us