देउवा र ओलीले नचाहेसम्म सरकार तल माथि हुन्नः सरकार प्रवक्ता

काठमाण्डु टुडे २०८१ माघ १२ गते १६:१२ मा प्रकाशित

काठमाण्डू, १२ माघ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेसम्म वर्तमान सरकार तल माथि नहुने दाबी गरेका छन ।

आज शनिबार दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको स्वर्णजयन्ती समारोहमा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन  ।

यस्तै उनले जनतालाई अनुभूत हुने गरी विकास निर्माणका काममा सरकार क्रियाशील रहेको पनि जिकिर गरे । देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उनको भनाइ छ।

उनले भने, ‘वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ।’ सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनिए पनि गाउँका जनताले त्यो अधिकार उपभोग गर्न नपाएका र उनीहरूले महसुस गर्ने गरी सरकार काममा लागेको पनि उनले बताएका छन ।

अर्थतन्त्र सुदृढ पार्न, लगानी भित्र्याउनेलगायत सदन अधिवेशन नभएको अवस्थामा देशलाई आवश्यक पर्ने ऐनकानुन अध्यादेशमार्फत जारी गरिएको उनले स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us