सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी छैनः अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८१ माघ १२ गते १४:२० मा प्रकाशित

काठमाण्डू, १२ माघ– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन आवाश्यक नभएको बताएका छन । आज शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।

उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका छन ।

उनले अहिलेको कांग्रेस–एमालेबिचको सहकार्य ८४ सम्म भएकाले ८४ पछि मात्रै सरकार परिवर्तन हुने बताएका छन । मन्त्री पौडेलले सुशासन, आर्थिक सुधार र संविधान संशोधनका लागि एमाले र कांग्रेसबिच गठबन्धन भएकाले कुशासन र भ्रष्टाचार नियन्त्रणका साथै कालोबजारी र तस्करी नियन्त्रणमा सरकार लागिपरेको बताए ।

त्यस्तै उनले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको उनको तर्क छ । गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिएकाले अर्थतन्त्र चलायमान हुने उनले बताए ।

पौडेलले अर्थतन्त्रमा सुधार आउने क्रम बढेकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा पुँजीगत खर्च बढ्ने जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us