बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

काठमाण्डु टुडे २०८१ माघ १२ गते १२:१९ मा प्रकाशित

काठमाण्डू, १२ माघ– बझाङका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ । यही २२ माघदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले बझाङले जानकारी दिएको छ ।

विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य उक्त कार्यालयका प्रमुख लालबहादुर धामीले जानकारी दिएका छन । उनले १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाउने बताए । विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने जानकारी दिएका छन ।

साइपाल गाउँपालिकामा विद्यालय जाने किशोरी एक सय ७४ जना र नजाने २० जना गरी एक सय ९४ जना, बुङ्गल नगरपालिकामा दुई हजार ५८, जयपृथ्वी नगरपालिकामा एक हजार तीन सय छ, सुर्मा गाउँपालिकामा पाँच सय ७७, तलकोटमा आठ सय २५, मष्टामा नौ सय ११, छविसपाथिभेरामा सात सय ५९, दुर्गाथलीमा सात सय ६१, केदारस्यूँमा एक हजार छ सय ६९, वित्थडचिरमा एक हजार दुई सय ५२, थलारामा आठ सय ५३ र खप्तडछान्ना गाउँपालिकामा आठ सय ७१ किशोरीलाई खोप लगाउने उनले बताए ।

जिल्लाभरि विद्यालय जाने ११ हजार आठ सय ३५ र विद्यालय नजाने दुई सय ९१ गरी १२ हजार एक सय २६ किशोरीलाई खोप लगाइने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us