काठमाण्डू, ११ माघ– सरकार नेतृत्वकर्ता एमालेले समाजिक सञ्जालमार्फत पार्टी र नेतृत्वविरूद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको भन्दै प्रतिवादमा उत्रन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै शुक्रबार एमालेले पार्टी नेतृत्वविरुद्ध निरन्तर साइबर हमला भएको भन्दै प्रतिकार गर्न निर्देशन दिएको हो । ‘अब सिंगो पार्टी पंक्तिले सामाजिक सञ्जालका माध्यमबाट पार्टी र पार्टी नेतृत्वका विरुद्धमा फैलाइएका मिथ्या र भ्रमपूर्ण प्रचारको दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ,’ निर्देशनमा भनिएको छ, ‘पार्टीका नीति, कार्यक्रम र योजनाको प्रभावकारी ढंगले सामाजिक सञ्जालका माध्यमबाट समेत सम्प्रेषण गर्नुपर्दछ ।’
त्यसका लागि पालिका तहसम्म नै प्रचार डेस्क तयार गरी काम अघि बढाउन भनिएको छ ।
मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनका क्रममा देखिएको प्रवृत्तिलाई ध्यानमा राखेर प्रचारको कामलाई ध्यान दिन एमालेले सबै तहका जनप्रतिनिधिलाइ निर्देशन दिएको छ ।
एमालेले सरकारका राम्रा र नमूनायोग्य कामलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्न पनि भनेको छ ।