काठमाण्डू, ११ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहसले आज पनि अन्तिम रूप पाउन सकेन ।
गत बुधबारबाट जारी बहस आज पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको रुपन्देही जिल्ला अदालत स्रोतले जानकारी दिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।
शुक्रबारको बहसमा जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरेका छन् । सो प्रकरणमा पूरक अभियोग लागेका रविविरुद्धको थुनछेक बहसमा बिहीबार वादीका तर्फबाट आठ जना सरकारी वकिलले बहस गरेका थिए भने जाहेरवालाका तर्फबाट भने एक जनाले बहस गरे। बिहीबार सरकारी वकिलको बयान सकिएको छ।