काठमाण्डू, ११ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले ‘गल्ती सच्याउने’ भन्दै ०८४ को निर्वाचनमा मत दिन दाङवासीसँग आग्रह गरेका छन । आज शुक्रबार दाङको तुलसीपुरमा माओवादीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले विगतमा आफूहरूबाट भएका गल्तीहरूको समीक्षा गर्दै अब सच्च्चिएर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । उनले भने, ‘हिजो हामीबाट कमजोरीहरू भए, त्यसको समीक्षा मैले राम्रोसँग गरेको छु, अब हामी हाम्रा गल्ती सच्याउँछौँ, तपाईँहरूले २०६४ कै जस्तै मत दिनुस्, ०८४ मा हामिलाई बहुमत पुर्याइदिनुस्।’ उनले माओवादीमा भएको छिन्नभिन्न, नागरिकका पक्षमा हुन नसकेका विभिन्न कामहरूको जिम्मेवारी लिँदै त्यो गल्ती आफूहरूबाट भएको स्वीकारेका थिए ।
माओवादी गल्ती सच्याएर अघि बढ्ने भन्दै दाहालले समानताको यात्रा तथा समृद्धिका लागि माओवादीलाई बहुमत पुर्याउनै पर्ने जिकिर गरे । उनले भने, ‘०६४ को जस्तै मत फेरि हामिलाई चाहियो, ०८४ मा त्यस्तै मत दिनुस्, समानताको यात्रा र समृद्धिको युग बनाउनका लागि माओवादी बहुमतसहितको शक्ति बन्नै पर्छ, अरूबाट यो सम्भव छैन ।’
यसैगरी दाहालले वर्तमान सरकार अवैधानिक रहेको पनि उल्लेख गरे । नेपालको संविधानको धारा ७६ (२) अनुसार बनेको वर्तमान सरकारलाई अवैधानिक भनेका दाहालले संविधान मिचेर बनेको सरकारले राजनीतिक प्रतिशोध साँधेर दु:ख दिने काम गरिरहेको आरोप लगाए। ‘राजनीतिक प्रतिशोध साँधेर मान्छेलाई विभिन्न आरोप लगाएर दुस्ख दिने, सताउने काम यो सरकारले गरिरहेको छ, दाहालले भने, ख्याल गर्नु होला, गठबन्धनवालाले हामीलाई खुलेआम बेच्न सक्छन्, यिनीहरूले हामीलाई बेचेर खाने भए।’