एक वर्षमै राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

काठमाण्डु टुडे २०८१ माघ ११ गते १५:४८ मा प्रकाशित

काठमाण्डू, ११ माघ– राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको मुख्य खण्डमा सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) भएको छ ।

आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भर्चुअल प्रविधिबाट ब्रेक थ्रु गरेका हुन् । ब्रेक थ्रुसँग बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।

सुरुङमार्गको ब्रेक थु समारोहलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुर्गमबाट सुगम र पिछडिएको देशबाट अघि बढेको देशका रूपमा अग्रसर हुँदैछ भन्ने सन्देश दिन सकिएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘यो खुसी तपाई हामी सवैको खुसी हो । सिंगै देशको खुसी हो, ‘पाल्पा, रुपन्देही, स्याङजा लगायतका जिल्लामा यस बाटोबाट आवतजावत गर्न सजिलो हुन्छ ।’

त्यसक्रममा प्रधानमन्त्रीले सुरुङमार्गको विशेष महत्त्व र ऐतिहासिक घटना भएको भन्दै इतिहासको एक सफलता भएको पनि बताए । प्रधानमन्त्री ओलीले यस्तै उपलब्धिबाट पछौटेपन समाप्त गर्न सकिने भन्दै वर्तमान सरकार विकास र स्थिरताका लागि बनेको बताए ।

‘अघिल्लो पटक सुरु भएका काम अघि बढी रहेका छन् । संयुक्त सरकारकाले ध्यान दिएर देशको शीघ्र विकास र सुशासनमा ध्यान दिएको छ । हामी बनाउँछौँ हाम्रो देश अरूको आवश्यकताअनुसार सहयोग लिनसक्छौँ’, प्रधानमन्त्रीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us