काठमाण्डू, ११ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रमलाई स्वास्थ्यमा समस्या आएका कारण भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन ।
दुई दिनदेखि स्वास्थ्यमा समस्या भएर आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह बमोजिम उपत्यका बाहिरको यात्रा नगरी भर्चुअल कार्यक्रममा जुटेका हुन् । शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका छन् ।
बिहान सवा ११ बजे पाल्पाको पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति जनाइसकेका छन् । त्यस्तै, राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रम पनि प्रधानमन्त्रीले भर्चुअल माध्यमबाटै गर्ने भएका छन् ।
भर्चुअल उद्घाटनका लागि सबै तयारी पूरा भइसकेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । त्यस्तै दिउँसो सवार १ बजे बुटवल–गोरुसिंगे सडक स्तरोन्ततिको शिलान्यास कार्यक्रम तय भएको छ । सो शिलान्यास कार्यक्रम पनि भर्चुअल माध्यमबाटै शिलान्यास गरिने भएको छ ।