एकीकृत समाजवादीसँगको एकता वार्ता पनि ‘क्लोज’ भइसकेको छैनः वामदेव गौतम

काठमाण्डु टुडे २०८१ माघ ११ गते १२:३९ मा प्रकाशित

काठमाण्डू, ११ माघ– नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकताको वार्ता पनि ‘क्लोज’ नभइसकेको बताएका छन ।

नेता गौतमले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँगको एकता अभियान क्लोज नभइसकको दाबी गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । यसअघि एकीकृत समाजवादीले गौतमलाई वरीष्ठ उपाध्यक्ष बनाएर तेस्रो वरीयतामा राख्ने प्रस्ताव गरेको थियो। त्यसपछि एकीकृत समाजवादी र अभियानबीच हुने एकताको मोडालिटीसमेत तयार पारिएको थियो।

तर, त्यसबीचमा गौतम नेकपा (एमाले)सँग नजिकिए। माघ ५ गते उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरे। त्यसपछि ओलीले ८ गते सचिवालय बैठक बोलाए। बैठकले अभियानसँग सहकार्य गर्ने निर्णय पनि गर्‍यो ।

तर, थप प्रक्रियाबारे भने मौन बस्यो। यसपछि गौतम सशंकित भएका छन्। कहीँ एमालेले अलमल्याउन मात्रै खोजेको त होइन भनेर गौतम सशंकित बनेको अभियानका नेताहरूले बताएका छन्। यसपछि उनले एकीकृत समाजवादीसँगको एकताका लागि संवाद क्लोज भइनसकेको बताएका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us