काठमाण्डू, ११ माघ– प्रहरीले लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु र अजय लामालाई पक्राउ गरिएको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन ।
प्रहरी स्रोतका अनुसार उनीहरुलाई भारतबाट पक्राउ गरी ल्याइएको हो ।नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि ११ कात्तिकमा आक्रमण भएको थियो ।
उनीमाथि रड आक्रमण भएको घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो । जसमध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
पक्राउ परेका अर्का प्रतिवादी पदम राई ५० हजार धरौटीमा रिहा भएका थिए । अर्का दुई प्रतिवादी लक्ष्मी राई र रमेश सिलवाल भने अझै फरार रहेका छन ।