काठमाण्डू, १० माघ– भ्रष्टाचार मुद्दामा दोषी ठहर कांग्रेस सांसद टेकबहादुर गुरुङको मुद्धामा पुनरावलोकन हुने भएको छ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले बिहीबार गुरुङको मुद्दा पुनरवलोकनका लागि अनुमति दिएको हो ।
काठमाण्डूको भृकुटीमण्डपस्थित ६० रोपनी सरकारी जग्गा फनपार्कलाई भाडामा दिँदा न्यून न्यून दरमा भाडा कायम गरी राज्यलाई नोक्सान पु¥याएको कसुरमा उनलाई दोषी ठहर गरेको थियो ।
गुरुङ फनपर्कका अध्यक्ष थिए । समाज कल्याण परिषदले गुरुङ सञ्चालक रहेको फनपार्कलाई प्रतिरोपनी मासिक ९ हजार २ सय ५० रुपैयाँमा १५ वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो ।
भृकुटीमण्डसँगैकै टुकुचामा इच्छुमती तरकारी बजारलाई भने परिषद्ले प्रतिरोपनी प्रतिमहिना ७८ हजार ५ सय ७१ रुपैयाँका दरले भाडामा लगाएको थियो ।
भ्रष्टाचारी ठहर भएपछि पद निलम्बन हुनुपर्नेमा उनी सांसदको हैसियतमा कामकाज गर्दै आएका छन् । यसअघि सर्वोच्चले नै गुरुङको सांसद पद निलम्बन फुकुवा गर्ने आदेश दिएको थियो ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले १६ चैत २०८० मा उत्प्रेषणको आदेशमार्फत निलम्बन फुकुवा गरी गुरूङर्लाइ संसद प्रवेशको बाटो खोलिदिएको थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सांसद गुरूङको निलम्बन फुकुवासम्बन्धी फैसलाविरूद्ध पुनरावलोकनका लागि निवेदन दिएको थियो ।
विशेष अदालतले १६ फागुन २०७९ मा गुरूङसहित ९ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।
पूर्वमन्त्री गुरुङ काँग्रेसका तर्फबाट मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।