काठमाण्डू, ९ माघ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको प्रहरीको छ ।
क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ जान लागेका चिनियाँ नागरिकको सुटकेशभित्र सोमबार लागूऔषध जस्तो देखिने वस्तु भेटिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले पनि लागूऔषध जस्तो देखिने वस्तु बरामद भएपछि लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) लाई बुझाइएको बताएका छन ।
उनले भने, ‘नियमित जाँचका क्रममा भेटिएपछि थप अनुसन्धानका लागि पठाएका छौं ।’ लागूऔषध नियन्त्रण ब्यूरोले बरामद वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ ।
‘नतिजा आएपछि सार्वजनिक गर्छौं’, ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले भने । स्रोतका अनुसार, पक्राउ परेका चिनियाँ नागरिकले आफूलाई एक जना व्यक्तिले निश्चित रकम दिने गरी लगिदिन भनेको बताएका छन् ।