काठमाण्डू, ३० असार– प्रहरीले सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र विनोद साह कलवारलाई पक्राउ गरेको छ ।
किसानको उजुरीका आधारमा गत बिहीबार दुवै जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । उखु किसानहरूले मिलले लामो समयदेखि आफूहरूको भुक्तानी नदिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार दुवै जनालाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको हो । उनले भने, ‘किसानहरूको उखुको करोडौं रुपैयाँ भुक्तानी लामो समयदेखि बाँकी रहेको र त्यसबाट हजारौं किसान प्रभावित भएको भन्ने उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।’
उखु किसानहरूले वर्षौंदेखि आफ्नो बक्यौता रकम नपाएको गुनासो गर्दै आएका छन्। रकम भुक्तानी नहुँदा आफूहरू आर्थिक समस्यामा परेको किसानहरूको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।