काठमाण्डू ८ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई डिजिटल क्षेत्रमा अगाडि बढाउने सङ्कल्प गर्दै देशभित्रै आइटी इन्फ्रास्ट्रक्चर र दक्ष जनशक्ति विकास गर्न विशेष योजना अघि सारेको बताएका छन ।
आज मंगलबार ‘आइटी उद्यमीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले प्रविधिको इतिहास, हालको अवस्था, र आगामी सम्भावनाकोबारेमा चर्चा गरेका हुन । प्रधानमन्त्री ओलीले प्रविधि क्षेत्रको विकासलाई पछ्याउन नेपालले भोग्नुपरेका अवरोधहरूको स्मरण गर्दै भने, ‘आइटी बिसौँ शताब्दीको उपज हो, तर नेपालले यसलाई समयमै आत्मसात् गर्न सकेन ।
सन् १९६० ताका विश्वले कलर टेलिभिजन देख्दै गर्दा हामी रेडियोको कल्पनामा थियौं । हामीले समय खेर फाल्यौं, जसको असर आज पनि परिरहेको छ ।’ उनले १९९४ मा आफ्नो नेतृत्वमा बनेको सरकारले आइटीको महत्त्व बुझेको र यसको विकासका लागि आधारशिला तयार गर्न केन्द्रित रहेको सुनाए। ‘तर, राजनीतिक स्थायित्वको अभावले तीव्र गतिमा अघि बढ्न सकेनौँ, ‘उनले भने ।
प्रधानमन्त्री ओलीले नेपालको डिजिटल यात्रालाई तीव्रता दिन सरकारले ‘डिजिटल नेपाल’ अवधारणा अघि सारेको जानकारी दिए। ‘आइटी फर अल, आइटी फर विजनेस, आइटी फर एजुकेसन, र आइटी फर इन्फर्मेशन भन्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं । हामीले मोबाइल, सफ्टवेयर, र कृत्रिम बुद्धिमत्ताका माध्यमबाट प्रत्येक नेपालीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने सङ्कल्प गरेका छौं ।’
प्रधानमन्त्रीले दक्षिण एसियाको आइटी केन्द्र बनाउने उद्देश्यलाई जोड दिँदै भने, ‘नेपालमा दक्ष र सक्षम जनशक्ति छ, हामीले उनीहरूको प्रतिभालाई सदुपयोग गरेर देशभित्र रोजगारीका अवसर सिर्जना गर्न सक्छौं। यसका लागि सरकार आफैं पनि आइटीको ठूलो बजार बन्न सक्छ ।’