हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा हवाई सेवा प्रभावित

काठमाण्डु टुडे २०८१ माघ ८ गते १२:०० मा प्रकाशित

काठमाण्डू ८ माघ– पछिल्लो केहिदिन यता लागेको बाक्लो हुस्सुको कारण भिजीबिलिटी कम हुँदा आज (मंगलबार) बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ ।

बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकले जानकारी दिएका छन । हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा आज विमानस्थलमा उडान हुन नसकेको उनले जानकारी दिए ।

ट्राफिक कन्ट्रोलर मल्लिकका अनुसार नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला, सङ्घीय राजधानीकाठमाण्डू, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ । जहाज उडाउन एक हजार भिजीबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि एक हजार छ सय भिजीबिलिटी आवश्यक पर्छ ।

नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाण्डू र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्री प्रतीक्षामा विमानस्थलमा बसिरहेका छन् । निरन्तरको शीतलहरले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us