चीनको उदाहरण दिँदै पोखरेलले भनेः नेपालमा काँग्रेस र एमाले भए पुग्छ

काठमाण्डु टुडे २०८१ माघ ७ गते १३:४४ मा प्रकाशित

चितवन, ७ माघ– एमाले महासचिव शंकर पोखरेलले मदन भण्डारीद्वारा प्तिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले धेरै दलको परिकल्पना नगरेको जिकिर गरेका छन् ।

दुई दलीय व्यवस्थाको वकालत गर्दै आएका पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत जबजले धेरै दलबीचको प्रतिस्पर्धाको कल्पना नगरेको तर्क गरेका हुन् । पोखरेलले संविधानले नै कम्युनिष्ट र गैरकम्युनिष्ट शक्तिबीचको ध्रुवीकरणको मान्यता आत्मसात गरेको दाबी गरे ।

उनले अमेरिकाको उदाहरण दिँदै नेपालमा पनि दुई दलीय व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तो व्यवस्थाले राजनीतिक स्थायित्व दिने दाबी पनि उनको छ । पोखरेलले आफूले विकास र समृद्धिका लागि धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दलको आवश्यकता छ भनिरहँदा त्यसलाई जबजको विपरीत मान्यताका रूपमा अर्थ्याउने कोसिस भइरहेको भन्दै आफ्नो बचाउ गरेका छन् ।

नेपालको संविधानले नेपाल राज्यको चरित्र समाजवाद उन्मुख हुनेछ भन्ने कुरालाई स्वीकार गरेबाट राजनीतिक दलको संख्या संविधानको भावना अनुरूप धेरै हुन सक्ने तर्क उनले दिएका छन् । ‘समान सोच र समान लक्ष्य राख्नेहरूको एउटै पार्टी हुनुपर्दछ भन्ने मान्यता राख्ने हो भने स्वाभाविक रूपमा नेपालको संविधानले दुई मान्यताका बीचको राजनीतिक ध्रुवीकरणलाई अपरिहार्य मान्दछ’, उनी भन्छन्, ‘जबजले धेरै दलका बीचको प्रतिस्पर्धा अपरिहार्य भनेर भनेको पनि छैन र त्यसरी सोच्नु पनि उचित हुँदैन ।’

उनले एकदलीय व्यवस्था रहेको चीनको उदहारण समेत दिन भ्याएका छन् । ‘पछिल्लो समयमा हाम्रा छिमेकी मुलुकहरू विकास र समृद्धिको यात्रामा तीव्र गतिमा अघि बढिरहेका छन् । चीनमा राष्ट्रपति प्रणाली छ, चीनका राष्ट्रपति सीले तेस्रो कार्यकालको नेतृत्व गरिरेहका छन् । भारतमा कार्यकारी प्रधानमन्त्रीको व्यवस्था छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको नेतृत्व गरिरहेका छन् । तब न ती मुलुक विकासको बाटोमा अघि बढ्न सफल छन्’, पोखरेलले भने ।

२ सय ७५ सिटको प्रतिनिधिसभामा जम्मा ३२ सिट पाएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्नका लागि कहिले एमाले र कहिले कांग्रेसतिरको गठबन्धन बनाएको र उनीहरूलाई विश्वासमा लिएर भन्दा घुर्क्याएर शासन गर्ने र सरकारमा टिकिरहने नीति लिएको आरोप पोखरेलले लगाए । उनी अगाडि लेख्छन्, ‘अनि भन्न थाले ३२ सिट भनेको चानचुने सिट होइन, यो त म्याजिक नम्बर हो । यसले त पाँचै वर्ष शासन गर्ला जस्तो छ । यही प्रवृति नै हो नेपाली राजनीतिको अस्थिरताको कारक, यस प्रवृत्तिलाई मलजल गर्ने कुरामा कहीँ न कहीँ कांग्रेस एमालेका नेताहरू पनि जिम्मेवार छन् । जुनकुरा यतिबेला आएर उनीहरूले महसुस गरेका छन् ।’

राजनीतिक अस्थिरताका कारण जनतामा बढ्दो निराशा र त्यसको जगमा हुर्किएको सामाजिक अराजकता नेपाली लोकतन्त्रको सबैभन्दा ठूलो चुनौती भएको उनले बताए । ‘अराजकता लोकतन्त्रिक विकासको चुनौती हो, राजनीतिक स्थायित्वका लागि बाधक हो, विकास र समृद्धिको यात्राको तगारो हो । यसमाथि समाजले विजय हासिल गर्नु अपरिहार्य छ’, पाखरेलले लेखेका छन् ।

पोखरेलले एमाले र त्यसको नेतृत्वका विरुद्धको घेराबन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू–राजनीतिक द्वन्द्वको खेल भएको पनि दाबी गरे । नेपालका साना राजनीतिक दलहरू या त आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर उनीहरूका सहयोगी बन्न पुगेका छन् या त निराशा र कुण्ठाग्रस्त मनस्थितिमा सामाजिक अराजकताको बाहक बनिरहेको टिप्पणी उनले गरे ।

‘यतिबेला एमालेविरुद्ध सुनियोजित रूपमा साइबर हमला भइरहेको छ । त्यसको उद्देश्य एमालेलाई कमजोर बनाउनु र नेपालमा बलियो राष्ट्रिय शक्तिको निर्माण हुन नदिनु हो । मिस इन्फर्मेसन र डिसइन्फर्मेसनको बाढी त्यसै उद्देश्यतर्फ लक्षित देखिन्छ । एमालेको तीन महिने जराकेन्द्रित अभियानका माध्यमबाट त्यसलाई परास्त गर्दै मुलुकमा लोकतन्त्रको सहज अभ्यासको वातावरण सिर्जना गर्न अग्रसर छ र हुनुपर्दछ’, उनले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us