प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउनेमाथि कारबाही गर्न एमालेको माग

काठमाण्डु टुडे २०८१ माघ ६ गते १२:३९ मा प्रकाशित

काठमाण्डू, ६ माघ– सरकार नेतृत्वकर्ता एमालेले आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीविरुद्ध धनगढी विमानस्थलमा नाराबाजी भएको विषयमा छानबिनको माग गरेको छ ।

एमाले कैलालीको शनिबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको घटनाको छानबिन गरी कारबाहीको माग गरेको छ ।

एमालेबाट निष्काशित पूर्वउपाध्यक्ष भीम रावल स्वागतका लागि शुक्रबार बिहान विमानस्थलमा जम्मा भएका उनका समर्थकले एमालेविरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरुले एमाले मूर्दावाद, खड्ग ओली मूर्दावादजस्ता नारा लगाएका थिए ।

भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन ११ रोपनी जग्गा दान लिएको विरोध गरेपछि एमालेले रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो । त्यसयता उनले ‘मातृ भूमि जागरण अभियान’ चलाइरहेका छन् ।

एमाले कैलालीका प्रचार विभाग प्रमुख एवं उपसचिव चुडामणि भट्टले विमानस्थलभित्र भएको नाराबाजीमा संलग्नमाथि कारबाही माग गर्ने निर्णय बैठकेल गरेको जानकारी दिए । उनले प्रधानमन्त्रीविरुद्ध अराजक समूहले नारा लगाउँदा प्रहरी मुकदर्शक भएर बसेको आरोप लगाए ।

‘भीम रावलका अराजक कार्यकर्ताले विमानस्थलमै हाम्रा अध्यक्ष र सम्माननीय प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गर्दा प्रहरी पनि मुकदर्शक भएर बस्यो’, भट्टले भने, ‘त्यस्ता अराजक गतिविधि कडाइपूर्वक नियन्त्रण गरियोस् भनेर हामीले पार्टीको केन्द्रीय समिति र सरकारको ध्यानाकर्षण गराएका छौं ।’

बैठकले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र कृष्णराजका छोरा कैलाली जिल्ला सदस्य भिष्मराजलाई रावलको समर्थन गरेको भन्दै संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us