काठमाण्डू, २ माघ–समाजवादी मोर्चाले आगामी १६ माघमा काठमाण्डूमा आमसभा गर्ने भएको छ । आज बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका छन ।
उनले भने, ‘माघ १६ गते काठमाण्डूमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गरौं भन्ने निर्णय भएको छ ।’ बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार काठमाण्डूमा गर्ने भनिएको कार्यक्रम आमसभा हो । ‘हामीले कार्यक्रम भनेको आमसभा भनेका हौं’ उनले भने, ‘उपयुक्त स्थान हेरेर सभा हुन्छ ।’
त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको पनि उनले जानकारी दिए । ‘हाम्रा पार्टीका आन्तरिक कामका कारण समाजवादी मोर्चा थोरै धिमा गतिमा बस्यो,’ उनले भने, ‘अब त्यसलाई अघि बढाउने प्रतिबद्धता भएको छ ।’