सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध

काठमाण्डु टुडे २०८१ पुष २९ गते १७:३१ मा प्रकाशित

काठमाण्डू, २९ पुस– हिमाली जिल्ला सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध हुन पुगेको छ ।

हिउँ जमेपछि जिल्लाको लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन ।

सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ ।

सडक खुलाउन समय लाग्ने उनले जानकारी दिएका छन । सडकमा हिउँमा चिप्लिएर सवारीसाधन दुर्घटना हुने सम्भावना भएकाले पताले, लामाजुरालगायत क्षेत्रमा यात्रा गर्ने सबैलाई सावधानी अपनाउन प्रहरीले आग्रह समेत गरेको छ ।

माथिल्लो सोलुखुम्बूमा यसअघि नै हिमपात भए तल्लो सोलुमा भने यसवर्ष पहिलो पटक हिमपात भएको हो । हिउँ परेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us