काठमाण्डू, २९ पुस– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो र नकारात्मकता फैलाइएको भन्दै असन्तुष्टि जनाएका छन ।
आज (सोमबार) बिहान नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीसँग बालुवाटारमा कुराकानी गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफू कुनै दल फुटाउने र मिलाउने काममा नलाग्ने जिकिर गरे ।
उनले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले अध्यादेश ल्याएको पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारीबोध गरेर दिउँसो वा राति काम हुुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन ।
देशका हितमा खुलेआम काम गर्ने हो ।’ उनले मध्यराति सरकारले अध्यादेश ल्याएको भन्नेबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएको भन्दै सजग रहन आग्रह गरे । ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र रु के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र ?,’ प्रधानमन्त्री ओलीले भने ।