बालुवाटारमा प्रधानमन्त्रीको गुनासोः स्विस बैंकमा पैसा छ भन्ने हल्ला चलाइयो

काठमाण्डु टुडे २०८१ पुष २९ गते १३:२८ मा प्रकाशित

काठमाण्डू, २९ पुस– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ल्याएको अध्यादेश कुनै दल फुटाउन नल्याइएको बताएका छन ।

आज सोमबार नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले दल फुटाउन अध्यादेश ल्याएको होइन । त्यो अध्यादेश मध्यरातमा जारी गरियो भनेर पनि हल्ला गरियो । त्यो अध्यादेश त हामीले दिउँसै तयार गरेको हौँ ।

प्रधानमन्त्री ओलीले आफूले जीवनभर स्वयंसेवीको रूपमा काम गर्दै आएको बताउँदै काम गर्दै जाँदा कतिपय कामको सेड्युल राति पुग्ने गरेको र त्यसलाई अनर्थ लगाउँदै भ्रम छर्ने काम भएको पनि बताएका छन । उनले यसमा पत्रकारहरू पनि सचेत हुनुपर्ने बताए ।

ओलीले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचार विरोधी अभियानमा रहेको समेत बताए । प्रधानमन्त्री ओलीले पछिल्लो समय सामाजिक सञ्जालबाट अराजकता फैलिने काम भएको बताउँदै त्यस्तो कार्य रोकिनुपर्नेमा जोड दिए ।

आफूविरुद्ध स्विस बैंकमा पैसा राखेको भन्ने गलत प्रचार भएको बताउँदै उनले त्यसको पुष्टि गर्न समेत चुनौती दिएका छन । प्रधानमन्त्री ओलीले भने– ‘पछिल्लो समय सामाजिक सञ्जालमा अराजकता बढेको छ ।

स्विस बैंकमा मेरो पैसा छ भन्ने गलत हल्ला चलाइयो । त्यो छानबिन गर्ने हो भने सरकारी स्तरबाटै पनि छानबिन गर्न तयार छु । त्यसका लागि समिति नै बनाउन तयार छु ।

त्यसरी हल्ला फैलाउने काम गर्नु गलत हो । यस्ता विषयमा पत्रकारहरू पनि सचेत हुनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us