
डडेलधुरा, १५ भदौ– डडेलधुरा आम्पानीका राउटे समुदाय व्यवसायिक चिउरी खेतीतर्फ आकर्षित भएका छन् ।
काठका भाँडा बनाउने परम्परागत पेसाबाट बिहान बेलुकाको छाक टार्न धौधौ भएपछि राउटे समुदाय चिउरी खेतीमा लागेको हो ।
जिल्लाको जोगबुढा–१ आम्पानीका ७० घरपरिवार राउटेको आम्दानीको श्रोत चिउरी हुन थालेको छ । उनीहरुलाई जिल्ला वन कार्यालय डडेलधुराले चिउरीको बिरुवा उपलब्ध गराएको थियो ।
डङसेरा सामुदायिक वनको छ हेक्टर क्षेत्रफलमा चिउरी रोपेका राउटेले व्यवसायिक मौरीपालन गर्ने उद्देश्यसमेत राखेका छन् । सरकारले उपलब्ध गराएको उक्त जमिनमा राउटेले चिउरीबाहेक पशुपालनका लागि लिप्टिस, कुरिलोलगायत घाँससमेत रोपेका छन् ।
राउटे आवास कार्यक्रमअन्तर्गत सरकारले गत वर्ष उनीहरुका लागि पक्की घर बनाएर स्थायी रुपमा बसोबास गराएको थियो ।
डडेलधुराको जोगबुढा गाविसको आम्पानी र शीर्ष गाविसको रज्यौडामा राउटे समुदायको बसोबास छ ।