काठमाण्डू, २८ पुस– वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानले अध्यक्ष वामदेव गौतमको नेतृत्वमा वार्ता कमिटी गठन गरेको छ ।
हिजो शनिबार बसेको अभियानको बैठकले गौतमको नेतृत्वमा ६ सदस्यीय वार्ता कमिटी गठन गरेको हो । वार्ता कमिटीमा अभियानका उपाध्यक्षहरू महेन्द्र अर्याल,डिल्लीराज भट्टराई, महासचिव डीबी कार्की, सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेका गौतमले जानकारी दिएका छन ।
उनले भने, ‘हामी तीनवटै पार्टीसँग वार्ता गर्ने भएका छौ । एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एकताका लागि वार्ता गर्न केन्द्रीय कमिटी बैठकले वार्ता कमिटी गठन गरेको छ ।’ उनले आवश्यकता अनुसार वार्ता कमिटीले तीनवटै पार्टीसँग औपचारिक वार्ता गर्दै जाने बताए ।
‘यसअघि हामीले अनौपचारिक ढंगले विभिन्न पार्टीसँग वार्ता गरेका थियौँ, अव औपचारिक वार्ता हुन्छ ।’गौतमले यसअघि नेकपा एकीकृत समाजवादीसँग एकताका लागि पटक पटक वार्ता गरेका थिए ।
वार्ताका क्रममा गौतमलाई वरिष्ठ नेता बनाउन सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल समेत तयार भैसकेको थिए । तर पछिल्लो समय फेरि तीनवटै पार्टीसँग एकता गर्न वार्ता कमिटी गठन गरेपछि एकीकृत समाजवादीसँग तत्काल एकता नहुने देखिएको छ । गौतमले एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता गर्ने भनेर आफुहरुले नभनेको बताए ।