थुनछेक बहस नभएपछि रविलाई प्रहरीको जिम्मा लगाउने आदेश

काठमाण्डु टुडे २०८१ पुष २८ गते १६:२२ मा प्रकाशित

काठमाण्डू, २८ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।

आज आइतबार जिल्ला अदालत काठमाण्डूमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।

आइतबार बिहानै अदालत उपस्थित भएमा रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए ।

तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि न्यायाधीशले यस्तो आदेश गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us