संसद् छलेर सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रपतिले अस्वीकार गर्नुहुनेछः सोबिता गौतम

काठमाण्डु टुडे २०८१ पुष २७ गते १४:५१ मा प्रकाशित

काठमाण्डू, २७ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारले संसद् छलेर ल्याएका अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले अस्वीकार गर्ने आशा व्यक्त गरेकी छन ।

हिजो शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको थियो । केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

ती अध्यादेशमा गैर आवासीय नेपालीलाई निःशुल्क भिसा दिनेदेखि कम्पनी खोल्न पाउने लगायत प्रावधान सकेटिएको छ । त्यसैगरी सार्वजनिक सेवा प्रवाहलाई सरल र छरितो बनाउन पनि अध्यादेश ल्याउने निर्णय भएको छ ।

गौतमले यसै सन्दर्भमा सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मुलुकको कानुन निर्माण गर्ने जननिर्वाचित सर्वोच्च संस्था संघीय संसद् २०८१ भदौ ३१ गतेदेखि तालाबन्दीमा छ । मङ्सिरमै संसद् अधिवेशन आह्वान हुनुपर्ने तर माघको चिसोले पनि सरकारको संवेदनशीलता झकझक्याउन सकेको छैन ।

सरकार संसद्लाई पन्छाउँदै अध्यादेशमार्फत शासन सत्ता सञ्चालन गर्दै निरंकुशताको अमूर्त मार्गतर्फ उन्मुख छ। हामीलाई विश्वास छ कि सम्माननीय राष्ट्रपतिज्यूले संसद् छलेर सरकारले ल्याएका अध्यादेशलाई जारी गर्न अस्वीकार गर्नुहुनेछ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us