काठमाण्डू, २५ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बुझाएका छद्धन् ।
लामिछानेले बैंक ग्यारेण्टीमार्फत धरौटी बुझाएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । धरौटी बुझाएकाले केहीबेरमा उनी रिहा हुने उनले बताए ।
यस्तै गोर्खा मिडियाका सञ्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशी र रामबहादुर खनालले पनि धरौटी बुझाएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीजित राईको एकल इजलासले लामिछानेलाई ६५ लाख, जोशीलाई ८८ लाख र खनाललाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सूर्यदर्शन सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ १ लाख, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ जनही ५ लाख धरौटी बुझाएर यसअघि नै रिहा भइसकेका छन् ।
अदालतले ७ जनालाई धरौटीमा छाड्न आदेश दिएकामा लीला पछाईले भने धरौटी बुझाउन सकेका छैनन् । उनीसँग ३७ लाख धरौटी माग गरिएको छ ।