काठमाण्डू, २५ पुस– पूर्व पधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन ।
आज बिहिबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले कांग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन् । उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्शानी मात्रै हुने बताएका छन ।
उनले छिमेकी जिल्लाहरु बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेलधुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको पनि बताए । उनले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे ।
मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरु कुनै उद्देश्य नरहेको उनले बताए। विमानस्थलहरु चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरुले लिनुपर्ने पनि नेपालले बताएका छन ।