जाजरकोट, १५ भदौ–जिल्लाको जगतिपुर गाविसमा तीन गाउँका बासिन्दा घन्टौं हिँडेर एउटै कुवाको पानी पिउन बाध्य छन् । कुस्तरा ,बटालागाउँ र रोकायागाउँका बासिन्दालाई कुवामा पालो पाउन राति पनि जाग्राम बस्नुपर्छ ।
जगतिपुरका ७, ८ र ९ नम्बर वडामा पर्ने यी गाउँका बासिन्दा सुंखायाममा मलसोता कुवामा रातभर लाइन बसेर पानी भर्छन् । वर्षामा भने धमिलो र फोहोर पानीका कारण झाडापखालाको प्रकोप फैलने गरेको स्थानीयले बताएका छन् ।
ती गाउँमा झन्डै एक सय ५० परिवारको बसोबास छ । गाउँनजिकमा पानीका मुल नभएकाले कुवाको फोहोर पानी पिउनुपर्ने बाध्यता भएको स्थानीय सूर्यबहादुर रोकायाले बताए ।
उनले भने, ‘गाउँनजिक कुवा छैन । बाँच्नकै लागि पनि तीन गाउँका गाउँलेले एउटै कुवाको फोहोर पानी पिउन परिरहेको छ ।’ पानीकै कारण वर्षेनी रोग फैलने गरेको उनले बताए ।
फोहोर पानीको प्रयोगले झाडापखाला,आउँ, ज्वरोलगायतका रोग फैलने गरेको स्वास्थ्यकर्मी बताउँछन् । अरु समयभन्दा वर्षाका बेला पानीजन्य रोग फैलने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।
नयाँ पत्रिका दैनिक