रगत नपाएरै गयो बिरामीको ज्यान

काठमाण्डु टुडे २०७१ भदौ १५ गते २:०१ मा प्रकाशित

अछाम, १५ भदौ– रगत नपाउँदा रक्त अल्पताले थलिएकी बाजुरा जुगाडाकी २५ वर्षीया वसन्ती रोकायाको ज्यान गएको छ । उनलाई उपचारका लागि bloodअस्पताल पुर्‍याएपछि पनि चाहिएजति रगत नपाउँदा बचाउन नसकिएको हो ।

वसन्तीको चारमहिने गर्भ पनि खेर गएको छ । बिहीबार अछामको बयलपाटा अस्पताल ल्याउँदा वसन्तीको शरीरमा हेमोग्लोबिनको मात्र चार थियो ।

तत्काल अस्पतालका सुरक्षा गार्ड र कर्मचारीबाट दुई पोका रगत निकालेर उनलाई दिइए पनि स्वास्थ्यमा सुधार आउन सकेन । तीन सन्तानकी आमा वसन्तीलाई बचाउन पति नन्दबहादुर रोकाया र अस्पतालका स्वास्थ्यकमीले निकै प्रयास गरे ।

तर वसन्तीलाई आवश्यक पर्ने ‘बी’ पोजेटिभ समूहको रगत कतै भेटिएन । एकजना आफन्तको समूह मिले पनि उनले रगत दिन मानेनन् । सबैतिर धाउँदा पनि रगत नपाएपछि नन्दबहादुरले गाउँबाट ‘बी’ पोजेटिभ भएको मान्छे पनि झिकाएका थिए । तर ती मान्छे बाटोमा आउँदै गर्दा अस्पतालमा शुक्रबार राति वसन्तीको ज्यान गइसकेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us