संविधान संशोधन ०८७ मा मात्रै हुन्छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ पुष २३ गते १८:०१ मा प्रकाशित

काठमाण्डू, २३ पुस– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ सालमा नेपालको संविधान संशोधन हुने बताएका छन् ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन नहुने प्रतिक्रिया दिएका छन । प्रधानमन्त्री ओलीले भने, ‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर ०८७ मा मात्रै हुन्छ ।’

प्रधानमन्त्री ओलीले ८७ सालमा संविधान संशोधन भनेपछि केही नेताले त्यसलाई सच्याउनेगरी ‘८३ साल होला’ भनेका थिए । तर प्रधानमन्त्री ओलीले दोहोर्याएरै भने, ‘मैले ०८७ सालमै भनेको ।’बैठकमा सहभागी एक नेताका अनुसार संसदको समीकरणका कारण संविधान संशोधन ०८७ सालमा हुने प्रधानमन्त्री ओलीको अनुमान थियो ।

‘हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौं । तर राष्ट्रिय सभाका कारण संभव भइरहेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधन त गर्ने नै हो । तर ०८७ मा ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us