सरकारद्वारा सिडिओहरुको मनपरी सरुवा, ४ महिनामै हटाइए काठमाण्डूका सिडिओ

काठमाण्डु टुडे २०८१ पुष २२ गते २०:४८ मा प्रकाशित

काठमाण्डू, २२ पुस- सरकारले प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको मनमौजी सरुवा गर्ने क्रमलाई तीव्रता दिएको छ ।

गृह मन्त्रालयले काठमाण्डुसहित विभिन्न जिल्लाका सिडिओहरुको सरुवा गरेको हो । काठमाण्डूका सिडीओ जयराज आचार्य चार महिनामै मन्त्रालय तानिएका छन् । आचार्यले गत २६ भदौमा मात्र काठमाण्डूको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका थिए । आचार्यको ठाउँमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ ।
मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईलाई मन्त्रालयमा फिर्ता गरेर त्यहाँ इन्द्रदेव यादवलाई पठाइएको छ । कैलालीका सिडिओ धर्मेन्द्रकुमार मिश्र र सुनसरीका सिडिओ रामचन्द्र तिवारीको पनि सरुवा भएको छ ।

मिश्रको सुनसरीको सिडिओमा सरूवा भएको छ । तिवारीलाई मन्त्रालय तानिएको छ । गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाल कैलालीको सिडिओ भएका छन् ।
यस्तै दाङकी सिडिओ सावित्रा पुनलाई सल्यान र सल्यानका सिडिओ शम्भुप्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

झापाका सिडिओ बन्धुप्रसाद बास्तोलालाई मन्त्रालय र सर्लाहीका सिडसओ गोपालकुमार अधिकारीलाई झापामा सरूवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us