स्वर्णलक्ष्मीमा जीबी राई र उनका २ दाइहरू पनि फरार प्रतिवादी

काठमाण्डु टुडे २०८१ पुष २२ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, २२ पुस– स्वर्णलक्ष्मी बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा गितेन्द्रबाबु (जीबी) राई र उनका दुई जना दाइहरूलाई पनि प्रतिवादी कायम गरिएको छ ।

जिल्ला अदालत काठमाण्डुमा दायर अभियोग पत्रमा जीबी र उनका दाइहरू ४७ वर्षीय देबेन्द्रबावु राई र ५० वर्षीय अनन्तबाबु राई फरार सूचीमा रहेका छन ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राई स्वर्णलक्ष्मीको पनि अध्यक्ष हुन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका दीपहरि राईका ३ भाइ छोराहरू नै सहकारीको रकम अपचलनमा संलग्न देखिएको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको छ ।

४१ वर्षीय जीबी राई विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भैसकेको छ ।५० वर्षीय अनन्तबाबु राई नेचर नेष्ट प्रालि, गोर्खा हर्बल प्रोडक्सन प्रालि, प्यागोडा होम प्रालि, स्प्रिङ उड रियलस्टेट प्रालि र गोरखा ग्रुप अफ कम्पनी प्रालिका सञ्चालक हुन् । देवेन्द्रबावु स्वर्णलक्ष्मीको उपाध्यक्ष हुन् ।

काठमाण्डु जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले दायर गरेको अभियोगपत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us