काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्यलाई लिएर सञ्चार माध्यममा गलत टिकाटिप्पणी भइरहेको भन्दै आपत्ति
जनाएका छन् ।
बाढी प्रभावितका लागि संकलित राहत हस्तान्तरणका लागि शनिबार बालुवाटार पुगेका राष्ट्रिय समाचार समितिका पत्रकार र कर्मचारीसँग कुरा गर्दै उनले पत्रपत्रिकामा आफ्नो स्वास्थ्यबारे लगत प्रचार भइरहेको भन्दै दु:ख व्यक्त गरे ।
‘पत्रपत्रिकामा जुन कुरा आएको छ त्यो गलत हो’, प्रधानमन्त्रीले भने, ‘म एकदम ठीक छु, सबै काम गरिराखेको छु ।’ पाँचपाँचवटा रेडियो थेरापी लिएकाले चिकित्सकले धेरै काम र धपेडी नगर्न सुझाव दिएकाले धपेडी कम गरेको बताए ।
यद्यपि उनले मन्त्रिपरिषद्को नियमित बैठक, विभिन्न कार्यक्रम र साथीभाइसँगको भेटघाट जारी राखेको उनको भनाइ थियो ।
‘पाँचपाँचवटा रेडियो थेरापी लिएकाले धेरै काम नगर्नुस् भन्ने छ’, प्रधानमन्त्रीले भने, ‘यस्तो थेरापी लिएको मानिसले बिरलै आफ्नो काम यसरी निर्वाह गरिराखेको हुन्छ, मलाई एकदम ठीक छ ।’