आफ्नो समितिमा ठूला नेता नआएकामा भट्टराई रुष्ट

काठमाण्डु टुडे २०७१ भदौ १४ गते १४:४८ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आफू सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा समिति समितिमा प्रमुख baburamदलका शीर्ष नेताको न्युन उपस्थिति रहने गरेको भन्दै आपत्ति जनाएका छन् ।
राजधानीमा शनिबार भएको एक कार्यक्रममा उनले नेताहरुले संविधान निर्माणलाई भन्दा व्यक्तिगत र पारिवारिक काम तथा घुमघामलाई महत्व दिएको आरोप लगाए ।

मुलुक संविधान निर्माणको अन्तिम चरणमा पुगेकाबेला गम्भीर हुन सबै दलका नेता र सभासदहरुलाई आग्रह गरे । ‘संविधान निर्माणको काम अन्तिम चरणमा पुगेका बेला योभन्दा हत्वपूर्ण काम अरु हुनै सक्दैन’, भट्टराईले भने, ‘व्यक्तिगत, पारिवारिक काम र घुमफिरलाई संविधानको कामभन्दा बढी महत्व दिइएकामा मलाई दु:ख लागेको छ ।’
विवादित विषयमा एक सातामै सहमति
भट्टराईले संविधानका विवादित विषयमा एक साताभित्रै सहमति हुने दाबी गरे । उनले बहुमत र अल्पमतका आधारमा नभई सर्वसम्मतिमा विवादको टुंगो लाग्ने बताए ।

विवादित विषयमा सहमति खोज्न पार्टीगत स्वार्थभन्दा माथि उठ्नुपर्ने उनको भनाइ थियो । ‘हामीले बहुमत र अल्पमत गरेर होइन, सर्वसम्मतिले सहमति जुटाउने भन्ने प्रक्रिया अपनाएका छौं’, भट्टराईले भने, ‘सर्वसम्मतिमा विवादित विषयमा एक साताभित्र सहमति खोज्नुपर्छ ।’

संविधान निर्माण कार्यतालिकाअनुसार आगामी भदौ २१ गतेभित्र विवादित विषयमा सहमति जुटाइसक्नुपर्छ । सहमति नभए विवादित विषय प्रक्रियाका लागि संविधानसभामा जानेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us