काठमाण्डु, २१ पुस– सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव भेटिएको छ । सर्लाहीको हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन ।
मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता भएका थिए । पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए ।
कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गरेका प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन । प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिलसमेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको उनले जानकारी दिएका छन ।
प्रारम्भिक मुचुल्का पछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै निजहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ । प्रसाईंको हत्या पछि गाउँ त्रासमा परेको छ । मृतक प्रसाईंले इँटा भट्टा सञ्चालन गर्दै आएका थिए ।