वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर

काठमाण्डु टुडे २०८१ पुष २१ गते १२:१० मा प्रकाशित

काठमाण्डु, २१ पुस– सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवासँग विवाद भएपछि तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

चेकिङका क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले जानकारी दिएका छन । गएराति करिब ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।

सोही क्रममा रामनगर गाउँपालिका–५ का वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट समेत लागेको बोहराले बताए । रायको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ ।

त्यसपछि स्थिति नियन्त्रण लिने क्रममा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले सर्लाहीका डीएसपीको कमाण्डमा थप टोली झिकाएको थियो ।

वडाध्यक्ष श्रीनन्दन यादवले भने प्रहरीले चेकिङको नाममा स्थानीयसँग रकम असुलेको र केहीलाई हिरासतमा राखेको गुनासो आएपछि आफू सो स्थानमा पुगेको बताए । आफूले मापसे नगरेको र प्रहरीलाई आक्रमण पनि नगराएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us