सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल

काठमाण्डु टुडे २०८१ पुष २० गते १६:०८ मा प्रकाशित

काठमाण्डु, २० पुस– नेकपा एमालेले निष्काशन गरेका नेता डा. भिम रावललाई विराटनगरमा नेकपा एकीकृत समाजवादी पार्टी र दुर्गा प्रसाईंका समर्थकले स्वागत गरेका छन् ।

एमालेबाट निष्कासनमा परेपछि शनिबार विराटनगर आएका उनलाई विमानस्थलमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य वसिल आलमसहित नेताहरूले स्वागत गरेका हुन ।

उनलाई स्वागत गर्न दुर्गा प्रसाईंले नेतृत्व गरिरहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान’का सदस्य सतिश पोखरेल लगायत पुगेका थिए । पोखरेल दुर्गा प्रसाईंले सुरु गरेको अभियानको केन्द्रीय सदस्य हुन् ।

उनी राजावादी हुन् । भीम रावल निकट स्रोतका अनुसार रावललाई स्वागत गर्नका लागि एकीकृत समाजवादी पार्टीको युवा नेताहरूलाई बोलाइएको थियो । तर राजतन्त्रको पक्षधर पोखरेल भने आफ्ना केही सहयोगीसहित पुगेका थिए ।

भीम रावल सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटनका लागि आएका थिए । तर उनले उद्घाटन गर्ने भनिएको कार्यक्रम भने २२ पुससम्मका लागि सरेको छ ।

विराटनगर विमानस्थलबाट भीम रावल कार्यक्रमका लागि भन्दै आएका आयोजककै गाडीमा हिँडेका थिए । तर उद्घाटन सरेपछि उनी भरौल चोक पुगेर फर्किए ।

‘उहाँ आउनु भएको थियो तर उद्घाटन नै सरेपछि मैदान पुग्नु भएन्, भरौल चोकबाटै फर्कनुभयो,’ एकीकृत समाजवादीका एक नेताले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us