पृथ्वी जयन्तीमा राप्रपाले दरबारमार्गदेखि सिंहदरबारसम्म एकता र्याली गर्ने

काठमाण्डु टुडे २०८१ पुष १९ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, १९ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दबरमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्याली गर्ने तयारी गरेको छ ।

आगामी पुस २७ गते ३०३ औं पृथ्वी जयन्तीको अवसर पारेर एकता र्याली गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन । र्यालीमा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमसेर राणा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरू सहभागी हुने उनले जानकारी दिएका छन ।

विभिन्न भेषभुषा र झांकीसहितको र्यालीपछि पृथ्वी शालिकमा पुगेर नेताहरूले पुष्पगुच्छा चढाउने कार्यक्रम बनेको प्रवक्ता श्रेष्ठले बताए । सोही दिन राप्रपाले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम पनि आयोजना गरेको छ ।

राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रीहरु, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरु, पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न पेशागत संघसंस्थाका प्रमुखहरू, कलाकार, खेलाडी लगायत सामाजिक जीवनका विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा पठाएको छ ।

सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा निर्णय गरेको थियो । राप्रपाले ०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us